.png&w=1000&height=550)
काभ्रे । लगातारको वर्षा र पहिरोका कारण तीन दिनदेखि अवरूद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
रोशी गाउँपालिका-७ स्थित चारसय बेशी, रोशी-९ को बोक्सीकुना नार्के र घुमाउने तथा नमोबुद्ध-६ चौकीडाँडा क्षेत्रमा डाइभर्सन बनाएर सडकमा सवारी आवागमन खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पहिरो र सडक कटानका कारण राजमार्ग केही दिनदेखि अवरूद्ध थियो ।
सडक डिभिजन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा डाइभर्सन निर्माण गरी अहिले यातायात आंशिकरूपमा सञ्चालनमा आएको जनाइएको छ । प्रहरीले यात्रु र चालकहरूलाई सडकको अवस्था अझै कमजोर र चिप्लो रहेकोले विशेष सतर्कता अपनाई यात्रा गर्न अनुरोध गरेको छ ।
साथै, वर्षा जारी रहँदा फेरि जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक परे मात्रै यात्रा गर्न पनि अपील गरिएको छ । सडक विभागले पनि आगामी केही दिन निरन्तर अनुगमन र मर्मत कार्य जारी रहने बताउँदै सडकमा देखिएका समस्या तत्काल समाधान गर्न प्राविधिक टोली परिचालनमा रहेको जनाएको छ ।