ज्यामिरेमा पहिरो खस्दा कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरूद्ध

कार्तिक १५, २०८२ |बालकृष्ण अधिकारी
ज्यामिरेमा पहिरो खस्दा कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरूद्ध

मकवानपुर । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बर-३ ज्यामिरेमा पहिरो खस्दा कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरूद्ध भएको छ । 

निरन्तर भइरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक अवरूद्ध भएपछि काठमाडौं-हेटौंडा आवागमन ठप्प भएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउने र हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनहरू बिच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुष्कर बोगटीले बताउनुभयो । 

पहिरो खसेको स्थानमा डोजर र जनशक्ति परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ । निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्ने क्रम नरोकिएकाले कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । मौसम अनुकूल बनेपछि सडक सञ्चालन गर्न सकिने अनुमान गरिएको छ । प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यो सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।