
रूपन्देही । रूपन्देहीको कञ्चन गाउँपालिका-५ फायरलाइनमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन्।
प्रहरीकाअनुसार रूपन्देहीको मुख्य सडकबाट बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रूद्रपुरतर्फ जाँदै गर्दा मंगलबार राति रूखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको रूइलाका प्रहरी कार्यालय सालझन्डीले जनाएको छ।
मृत्यु हुनेमा सैनामैना-८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कञ्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। उनीहरूको उपचारको क्रममा कपिलवस्तुस्थित पिपरा अस्पतालमा मत्यु भएको हो ।
गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मर सिटी अस्पताल बुटवल पठाइएको प्रहरीले बताएको छ।
दुर्घटनाको कारण अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनास्थलमा पुगेको रूद्रपुर इलाका प्रहरी कार्यालयको टोलीले राति नै उद्धार कार्य गरी घाइतेहरूलाई उपचारका लागि पठाएको हो। प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।