भक्तपुरको कमलविनायकमा छठ पर्व मनाइँदै

कार्तिक १०, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरको कमलविनायकमा छठ पर्व मनाइँदै

भक्तपुर । केही वर्ष यता भक्तपुर नगरपालिका १० स्थित कमलपोखरीमा हर्षोउल्लासका साथ छठ पर्व मनाउने थालिएको छ । 

विशेषत तराई क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व हाल कमलपोखरीमा पनि छठ घाट बनाएर पनि छठ पर्व मनाइरहेको छ । सूर्य भगवानलाई अर्घ्य दिन भक्तपुरको कमलविनायकस्थित कमल पोखरीको जलाशयको किनारमा छठ पर्व मनाउन बिहानैदेखि पूजाका सामग्रीहरू उपस्थित भएका थिए ।

छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रूपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजो-आज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् । रोजगारी, पढाइ र अन्य कामको सिलसिलामा उपत्यका बसोवास गरिरहको तराईका समुदायले पायक पर्ने छठ घाटमा गएर ब्रत बस्ने गरेका छन । 

भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि विगत १८ वर्षदेखि छठ पर्व मनाउँदै आएको आयोजक सदस्य मुकेश साहाले जनाकारी दिनुभयो । पहिले चार पाँच जनामात्रै छठको ब्रत बस्ने गरेकोमा छठ घाट व्यवस्थित गरेपछि कमलविनायकमा पनि छठ पर्व मनाउनेको घुइँचो लागेको उहाँको भनाइ छ । 

यस वर्ष एक सय परिवार भन्दा बढीले कमलविनायकमा छठ पर्व मनाउन आएका उहाँले बताउनुभयो । साेमबार अस्ताउँदो सूर्य र भोलि सप्तमीका दिन उदाउँदो सूर्यको अर्घ्य दिएपछि बिधिवत् रूपमा छठ पर्व समापन हुने छ । छठ पर्वको मूल विधि चतुर्थीदेखि सुरू भएर षष्ठीको दिन अस्ताउँदै गरेको सूर्य र सप्तमीको दिन बिहान उदाउँदै गरेको सूर्यको अर्घ्य दिइन्छ र समापन गरिन्छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।