लुम्बिनीबाट ६७ देशका प्रतिनिधिले गरे विश्वशान्तिका लागि आह्वान, कोषका पदाधिकारी उत्साहित

कार्तिक ७, २०८२ |मनोज पौडेल
लुम्बिनीबाट ६७ देशका प्रतिनिधिले गरे विश्वशान्तिका लागि आह्वान, कोषका पदाधिकारी उत्साहित

कपिलवस्तु । संसारभरका सम्पदा विशेषज्ञ र विज्ञले शान्तिका लागि सांस्कृतिक सम्पदाको प्रभावकारी उपयोग गरेर अघि बढ्नुपर्ने संकल्प गरेका छन् । 

लुम्बिनीमा आयोजित चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनपछि शान्ति घोषणापत्र सार्वजनिक गर्दै ६७ देशका सहभागीहरूले द्वन्द्व र हिंसाले विश्वभरका सम्पदा ध्वस्त भइरहेकाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका हुन् ।

विश्वका ६७ मुलुकका २ सय २२ जना विदेशी र सयभन्दा बढी नेपाली सहभागी भएर ब्यापक छलफल गरेका थिए । विदेशबाट अनलाईनमार्फत ५ सयभन्दा बढी सहभागी थिए । सम्मेलनमा जाम्बियादेखि स्विडेन तथा ईक्वेडरदेखि अस्ट्रलियासम्मका पुरातत्वविद्, सम्पदाविज्ञ, प्राध्यापक, आर्कीटेक्ट ईञ्जिनियर, स्टोनविज्ञ र सास्कृतिक सम्पदा संरक्षणसँगसम्बन्धी विज्ञ र अनुसन्धानकर्ता सहभागी थिए । 

विश्वभरका सास्कृतिक सम्पदालाई द्वन्द्व, हिंसा र विपद् जोखिमबाट जोगाउन गर्नु पर्ने तयारी गर्दै विश्व शान्तिका विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन गरिएको हो । संसारका पाँचै महादेशका सम्पदाका विभिन्न क्षेत्रका विज्ञ र विशेषज्ञको लुम्बिनी आगमनले यहाको अध्यात्मिकता र पवित्रता विश्वभरी उजागर भएर राम्रो प्रचारप्रसार हुँदा लुम्बिनी विकास कोषका अधिकारी उत्साहित छन् ।

यसअघि ४ दिनसम्म इकोमस इन्टरनेसलको ६०औं महासभा पनि लुम्बिनीमा भएको थियो ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।