चितवन । चितवनमा भएका छुट्टा-छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गएराति पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-२ स्थित लदरी खोला पुलमा ग्याँस बुलेट र मोटरसाइकल ठोक्किँदा खैरहनी नगरपालिका-२ निवासी २८ वर्षीय मनिष बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको बोगटीलाई उपचारका लागि पुरानो मेडिकल कलेज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो । यस्तै चितवनको भरतपुर-४ धर्मचोकमा बीच भागको डिभाइडरमा ठोक्किएर कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
चौबिसकोठीबाट विशालचोक तर्फ जाँदै गरेको लु ३ च ५३५७ नम्बरको कार आफै अनियन्त्रित भई बाटोको बीच भागको डिभाइडरमा ठोक्किएको थियो ।