रूपन्देही । धान उत्पादनमा अग्रणी रहँदै आएको रूपन्देहीमा रैथाने धान बाली भने हराउँदै गएको छ ।
किसानहरू धेरै र छिटो फलाउने धानतर्फ आकर्षित हुँदा स्वादिष्ट र पोषणयुक्त रैथाने धान भने बाली हराउँदै गएको हो । कृषि ज्ञान केन्द्रका अनुसार रूपन्देहीमा ६९ हजार हेक्टरमा लगाइएको धान बालीमध्ये जम्मा ५ प्रतिशतमा रैथाने धान लगाइएको छ ।
रैथाने धान हराउँदा बीउमा ६० प्रतिशत परनिर्भरता बढेको छ । परिवर्तित खेतीले रैथाने बाली जोगाउन मुस्किल हुने अवस्थामा आएको ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । लगातार एकै ठाउँमा ३० वर्षभन्दा बढी कुनै बाली लगाइएको छ भने त्यसलाई रैथाने भनिन्छ ।
रूपन्देहीमा वार्षिक ४ लाख २० हजार टनसम्म धान फल्ने गरेको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय बीउ विजन प्रयोगशाला, भैरहवाका प्रमुख दीपक सापकोटाले आधुनिकीकरणसँगै परिवर्तित खाद्य संस्कारले रैथाने बाली जोगाउन मुस्किल हुने अवस्थामा आएको बताउनुभयो ।