कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक दुई महिनापछि खुल्यो

कार्तिक २, २०८२ |दीपेन्द्र शाक्य
कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक दुई महिनापछि खुल्यो

संखुवासभा । लगातार अवरूद्ध हुँदै आएको कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक दुई महिनापछि खुलेको छ ।

भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदौ १५ देखि सडक अवरूद्ध भएको थियो । लामो समयको निरन्तर प्रयास र सडक मर्मतपछि आइतबारबाट पुनः सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।

कोशी राजमार्गअन्तर्गत पर्ने खाँदबारी-किमाथाङ्का सडक आयोजनाका प्रमुख रामबहादुर गुरूङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र योजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो । उहाँका अनुसार भोटखोला क्षेत्रको कठिन भू-भाग र लगातारको वर्षाका कारण मर्मतको काम  ढिलाई भएको थियो । सडक खुलेसँगै वरूण नदीमा बनेको पक्की पुलबाट सवारीसाधन सञ्चालन भएको छ ।

लामो समयदेखि सडक बन्द हुँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति र आवागमनमा ठुलो कठिनाइ झेल्दै आएका थिए । सडक खुल्दा खाँदबारीदेखि भोटखोला हटियासम्म र थोगाङ खोलासम्म सवारी साधन सञ्चालन गर्न सकिने आयोजनाका प्रमुख गुरूङले बताउनुभयाे ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।