लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती साेमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। 

महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरबाटै कविता लेख्न सुरू गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्। नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याएका देवकोटा नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका थिए । 

देवकोटाको 'मुनामदन' खण्डकाव्य नेपाली भाषामै हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ। स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य र एकै दिनमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि (सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निराला) को संयुक्त रूपसँग तुलना गरेका थिए। विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषय बनाउनुका साथै वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.