बारामा तीन लाखभन्दा बढीलाई हैजाविरूद्धको खोप खुवाइयाे

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बारामा तीन लाखभन्दा बढीलाई हैजाविरूद्धको खोप खुवाइयाे

बारा । बारामा ३ लाख १७ हजार २ सय ४२ जनालाई हैजाविरूद्धको खोप खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय बाराले असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको हैजाविरूद्धको खोप अभियानअन्तर्गत जिल्लाका उच्च जोखिममा रहेको ६ वटा पालिकामा ३ लाख १७ हजार २ सय ४२ जनालाई हैजाविरूद्धको खोप खुवाइएको हो ।

उच्च जोखिममा रहेका बाराको ६ वटा पालिकाका एक वर्षभन्दा माथिका ३ लाख ६५ हजार ९ सय ३१ जनालाई खोप खुवाउने लक्ष्यका साथ असोज २७ गतेबाट सुरू भएको अभियानअन्तर्गत ८७ प्रतिशत नागरिकलाई खोप खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश राय यादवले बताउनु भएको छ ।

प्रमुख यादवकाअनुसार खोप खान छुटेका १३ प्रतिशतलाई छठपछि स्वास्थ्य विभागसँग समन्वय गरी घर-घर गएर खुवाउने अभियान सुरू गरिनेछ । जनस्वास्थ्य कार्यालय बाराका अनुसार उच्च जोखिममा रहेका बाराका जितपुरसिमरा उपमहानगरपालिकामा १ लाख ८ हजार ६ सय ७३, कलैया उपमहानगरपालिकामा १ लाख २१ हजार ९ सय ३४, विश्रामपुर गाउँपालिकामा १९ हजार ६ सय ३२, परवानिपुर गाउँपालिकामा २१ हजार ७ सय १७, प्रसौनी गाउँपालिकामा २३ हजार ५ सय र फेटा गाउँपालिकाकामा २१ हजार ७ सय ८६ जना एक वर्षभन्दा माथिका बालबालिकालाई हैजाविरूद्धको खोप खुवाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.