तिहार अवधिभर बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा राेक (विज्ञप्तिसहित)

कार्तिक २, २०८२ |पुजन धिताल
तिहार अवधिभर बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा राेक (विज्ञप्तिसहित)

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तिहार अवधिभर बीपी राजमार्ग र अरनिको राजमार्गमा टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ ।

कार्यालयले २०८२ असोज २ गतेको सुरक्षा समिति बैठकको निर्णय अनुसार २०८२ असोज ३ गते बिहान ५ बजेदेखि कात्तिक ७ गते बिहान ७ बजेसम्मका लागि जिल्लाभित्रका प्रमुख राजमार्ग तथा सडक मार्गमा टिपर सञ्चालन पूर्ण रूपमा निषेध गरिएको जनाएको छ ।

प्रशासनका अनुसार सो निर्णय चाडपर्व अवधिमा सवारी दुर्घटना न्यूनीकरण र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिँदै गरिएको हो । रोक अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ उल्लङ्घन गर्नेहरूमाथि कडा कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

तर, अत्यावश्यक सेवाका सवारी साधनमा भने यो प्रतिबन्ध लागू नहुने प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले सबै नागरिकलाई सुरक्षित र सहज यात्राका लागि सहयोग गर्न आग्रह गर्दै दीपावली, नेपाल सम्वत् र छठ पर्वको हार्दिक शुभकामना दिएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।