कपिलवस्तु । निख्खर कालो हुनाले देख्दा त्यति राम्रो हुँदैन, रूखो र कर्कश आवाज निकाल्छ, तर पनि तिहारको पहिलो दिनको पुज्य पन्छी हो काग ।
काग तिहारका दिन कागलाई घर-आँगनमा बोलाई पूजाआजा गरी मीठा परिकार खुवाउने चलन छ । पर्यावरण जोगाउन मद्दत गर्ने सात प्रजातिका काला काग नेपालमा पाइन्छन् । हिन्दू धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् । उक्त विवरणको सन्देश पृथ्वीलोकमा ल्याउने र लाने काम कागले गर्ने मान्यता छ ।
काग तिहारको दिन कागको पूजाअर्चना नगर्दा पापको भागी भइने र मृत्युपछि नर्कमा पुगिने विश्वास रहीआएको छ । त्यसैले काग तिहारमा कागको पूजाआजा गर्दै वर्षभरि कागले राम्रो र सुखद खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।
कागको सञ्चार कला गजब हुन्छ । एउटा करायो भने सुनेर वरिपरिका अरू काग झुम्मिन्छन् । एकता र सद्भाव उत्तिकै दर्शाउँछन् । एउटा काग मर्यो भने वरिपरिका सबै भेला हुन्छन् । शोक मनाउँदै घटनाबारे जानकारी दिन्छन् । भिन्न प्रजाति भएपनि उनीहरूमा कसिलो सम्बन्ध छ ।
नेपालमा ७ प्रजातिका काला काग पाइन्छन् । तराईमा घर कागले प्रहरीजस्तो काम गर्छ । केही आयो भने खबर गर्ने गर्छन् । बिरालो, सर्प, बाघ र भालु आए कराएर सूचना दिन्छन् । काग अति चलाख हुन्छ । यसले एकदेखि १० सम्म गन्ती पनि गर्न सक्छ भन्ने मान्यता छ ।
सिनो, फालेको मासुको टुक्रा र फोहर खाएर वातावरण संरक्षणको काम गर्नेहुनाले काम समाजोपयोगी पन्छी हो । कागको स्मरणशक्ति राम्रो हुने भएकाले आफूलाई हानि पुर्याउने व्यक्तिलाई चिन्छ । कागको ठोडमा ब्याक्टेरिया र विकार हुने हुनाले मानव संसर्गमा आयो भने हानि पुर्याउनसक्छ ।
यसको आयु २० वर्षसम्म हुन्छ । चैत्र बैशाखमा ओथरो बस्छ । तीन चार वटासम्म अण्डा पार्छ । २० फिट उचाइँ पाए घाासपात जम्मा गरेर गुँड बनाउँछ । भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउछन् । पालैपलो हेरचाह गर्छन् ।
समुन्द्र सतहको एक सय मिटरदेखि ६ हजार २५० मिटरसम्म काग पाइन्छ । हिमाली क्षेत्रमा पाइने राजा कागले गुम्बा, बिहारको प्वाल टोडका र टेमुले पत्थरको दुलोमा बच्चा कोरल्छन् ।