पश्चिम एसियाका डेटा सेन्टर इरानको निशानामा

डेटा सेन्टरमा क्षति हुँदा वेबसाइट, क्लाउड सेवालगायतका सेवा प्रभावित
युद्धमा एआईको परीक्षण भएको अमेरिकी दाबी
चैत्र २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पश्चिम एसियाका डेटा सेन्टर इरानको निशानामा

काठमाडौं । इरानले पश्चिम एसियास्थित अमेरिकी कम्पनीका डेटा सेन्टरमा आक्रमण गरिरहेका बेला अमेरिकी युद्ध मामिलामन्त्री पिट हेग्सेथले भने इरानसँगको युद्धमा एआईको प्रयोग र परीक्षण भइरहेको बताउनुभएको छ ।

गोप्य सूचना, साइबर अपरेशन र ड्रोन तथा मिसाइलको समन्वयमा पनि एआई प्रयोग भइरहेको हेगसेथको भनाइ छ । उहाँले अमेरिकी सेनाको प्राविधिक क्षमताको प्रशंसा गर्दै 'एआइ फर्स्ट' भन्नुभएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले सार्वजनिक गरेका आक्रमणका नयाँ निशानाहरूमा अमेरिकी सेनाका पूर्वाधारसँगै पश्चिम एसियास्थित अमेरिकी कम्पनीका डेटा सेन्टर पनि छन् । 

इरानले गत साता पनि यूएईस्थित अमेजनका दुईवटा डेटा सेन्टरमा आक्रमण गरेको थियो । अमेजनसँग अमेरिकी सेनाको सहकार्य रहेकाले ती सेन्टरहरू निशानामा परेको इरानको दाबी छ । डेटा सेन्टरमा क्षति पुग्दा वेबसाइट, मोबाइल एप, क्लाउड सेवा, बैंकिङ, ई–कमर्सजस्ता सबै अनलाइन सेवा तुरून्तै बन्द हुन्छन् । 

अस्पताल, बैंक, सरकारी प्रणालीले प्रयोग गर्ने एप नचल्दा उपचार, भुक्तानी, दर्ता–रिपोर्टिङजस्ता महत्वपूर्ण काम रोकिन्छ वा ढिलो हुन्छ । सेवा बन्द हुँदा प्रति मिनेट हजारौँ रूपैयाँदेखि ठूलो कम्पनीको हकमा लाखौँ रकम बराबरको आम्दानी गुम्न सक्छ ।

युद्धअगाडि यूएईमा पश्चिमा मुलुकका सरकार तथा कम्पनीहरूले सूचना प्रविधि क्षेत्रमा ठूलो लगानी घोषणा गरेका थिए । २०२५ मा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले साउदी अरब, कतार र यूएईको भ्रमणका क्रममा करिब २ दशमलव ८ ट्रिलियन डलर बराबरको लगानी प्रतिबद्धता घोषणा गर्नुभएको थियो । 

२०२५ मै अस्ट्रेलियाली कम्पनी एयरट्रङ्कले साउदी अरबमा ४ दशमलव २ अर्ब डलरको डेटासेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो । एकपछि अर्का एआई कम्पनी र विशाल लगानी आकर्षित गरिरहेका खाडी मुलुकमा अहिले द्वन्द्वले यहाँको वातावरण बिथोलिएको छ ।