२२ करोड जरिवाना तोकिएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
२२ करोड जरिवाना तोकिएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएको र फरार प्रतिवादीको सूचीमा रहेका श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । श्रेष्ठलाई नागार्जुन नगरपालिका–५ सीतापाइलाबाट पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित गरेको अदालतले ठहर गरेको थियो । श्रेष्ठलाई गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसुरमा संलग्न भएको भन्दै सर्वोच्च अदालतले दुईवटै मुद्दामा २०८१ भदौ ५ गते १९ करोड ४६ लाख एक हजार जरिवाना, तीन वर्ष कैद तीन करोड २१ लाख ३९ हजार जरिवाना तथा तीन वर्ष कैद सजाय हुने फैसला गरेको थियो । 

श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । यसैबीच नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका–८ भीमढुंगाका सागर गिरी र प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रूपैयाँको चेक, बैंकका एटीएमलगायत पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.