ह्युमपाइप राखिएपछि खुल्यो महाभारत गाउँपालिका जोड्ने सडक

आश्विन २८, २०८२ |पुजन धिताल
ह्युमपाइप राखिएपछि खुल्यो महाभारत गाउँपालिका जोड्ने सडक

काभ्रे । गत वर्ष असोज दोस्रो सातामा आएको भीषण बाढीले रोशी खोलाको थानसिङबेशीस्थित पक्की पुल बगाएपछि रोशी गाउँपालिकाको सिपाली क्षेत्र हुँदै महाभारत गाउँपालिका जाने सडक अवरूद्ध भएको थियो। 

सो बाटो बन्द हुँदा महाभारतका बासिन्दा आवतजावतमा ठूलो समस्या भोग्दै आएका थिए। बाढी आउँदा सिपाली र महाभारतबीचको सम्पर्क हरेक पटक टुट्ने गरेको छ। स्थायी पुल निर्माणको प्रक्रिया अझै टुंगो नलागेकाले अस्थायी रूपमा आवागमन सहज बनाउन रोशी खोलामा ह्युमपाइप राखिएको हो।

गत असोज १७ र १८ गतेको बाढीअघि सुरक्षित राखिएको ह्युमपाइप यसपटक पुनः खोलामा राखिएको छ। यसअघि दुई पटकसम्म बाढीले बगाएको पाइप यसपाली जोगाइएपछि पुनः प्रयोगमा ल्याइएको हो। ह्युमपाइप राखिएसँगै अब सवारीसाधन र पैदल यात्रु दुवैलाई खोलामार्ग हुँदै जोखिमपूर्ण यात्राको बाध्यता हटेको छ। स्थानीयवासीले यसलाई तत्कालका लागि ठूलो राहतका रूपमा लिएका छन्।

महाभारत गाउँपालिका पुग्न हाल बीपी राजमार्गकै दाउन्ने, काल्ढुङा र मङलटार हुँदै जाने बाटो प्रयोग गर्न सकिन्थ्यो। तीमध्ये प्रायः एउटा मात्र बाटो सञ्चालनमा रहने गरेकोमा अब सिपाली हुँदै पनि आवतजावत सम्भव भएपछि महाभारतका जनताका लागि थप सहज भएको छ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयाे, “सिपाली हुँदै आवागमन सम्भव भएपछि महाभारतका बासिन्दाको यात्रा सहज भएको छ।” रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा तथा इन्जिनियर टोलीले आइतबारदेखि रोशी खोलालाई एकतर्फ बग्ने बनाउँदै ह्युमपाइप मिलाउने कार्य गरेका थिए।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।