महाभारत सडक सञ्जाल पुनः सञ्चालनतर्फ, रोशी खोलामा ह्युमपाइप राखियो

आश्विन २७, २०८२ |पुजन धिताल
महाभारत सडक सञ्जाल पुनः सञ्चालनतर्फ, रोशी खोलामा ह्युमपाइप राखियो

काभ्रे । गत वर्ष असोज दोस्रो सातामा आएको भीषण बाढीले रोशी खोलाको थानसिङबेशीस्थित पक्की पुल बगाएपछि रोशी गाउँपालिकाका केही वडा सिपाली क्षेत्र हुँदै महाभारत गाउँपालिका जाने मुख्य सडक अवरूद्ध भएको थियो। 

पुल बगाएपछि उक्त क्षेत्रका स्थानीयवासी लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका थिए। रोशी खोलामा बाढी आउँदा सिपाली र महाभारततर्फको यातायात पूर्ण रूपमा ठप्प हुने समस्या पटक-पटक दोहोरिँदै आएको छ। बगाएको पुलको स्थायी पुनर्निर्माण कार्य अझै टुंगो नलागेकाले हाल अस्थायी रूपमा आवागमन सहज बनाउन ह्युमपाइप राखिएको हो।

गत असोज १७ र १८ गते पुनः आएको बाढीअघि सुरक्षित राखिएको सो पाइप यसपटक पुनः खोलामा राखिएको छ। यसअघि दुई पटकसम्म बाढीले बगाएको ह्युमपाइप यसपाली जोगाइएपछि स्थानीय स्तरमै पुनः प्रयोगमा ल्याइएको हो।

ह्युमपाइप राखिएसँगै अब सवारीसाधन र पैदल यात्रुहरूलाई खोलामार्ग हुँदै जोखिमपूर्ण आवागमन गर्नुपर्ने बाध्यता केही हदसम्म हट्ने भएको छ। स्थानीयवासीले यसलाई तत्कालका लागि राहतका रूपमा लिएका छन्। यसबाहेक महाभारत गाउँपालिका पुग्न हाल बीपी राजमार्गकै दाउन्ने, काल्ढुङा र मङलटार मार्ग प्रयोग गर्न सकिन्छ। 

तीमध्ये प्रायः एक स्थानबाट मात्रै सवारीसाधन सञ्चालन सम्भव हुने गरेकोमा अब सिपाली हुँदै पनि जान सकिने भएपछि महाभारतका जनतालाई थप सहज हुने भएको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार सडक सञ्चालनमा आएपछि महाभारत र रोशीबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा तथा रोशी गाउँपालिकाका इन्जिनियरहरूको टोलीले आइतबारदेखि रोशी खोलालाई एकतर्फी बग्ने बनाउँदै ह्युमपाइप मिलाउने कार्य थालेका थिए।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।