जाजरकोट । जाजरकोटमा पहिलोपटक अनलाइन प्रणालीमार्फत नागरिकता वितरण कार्य सुरू गरिएको छ।
भेरी नगरपालिका-६ का सेवाग्राहीले सोमबार अनलाइन प्रणाली प्रयोग गरी नागरिकता प्राप्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुसार अनलाइन प्रणाली सुरू भएपछि सेवाग्राहीले आवश्यक कागजातका लागि पटक-पटक कार्यालय धाउनु नपर्ने र समय तथा खर्च दुवै बचत हुने भएको छ।
उहाँकाअनुसार भेरी नगरपालिका-६ बाट प्रारम्भ गरिएको अनलाइन वितरण प्रणालीलाई क्रमशः जिल्लाका अन्य पालिकाका सबै वडासम्म विस्तार गर्ने तयारी भइरहेको छ। प्रजिअ पौडेलले भन्नुभयाे, “अब नागरिकता लिनका लागि लामो समय कुर्नुपर्ने अवस्था हट्नेछ, अनलाइन प्रणालीले प्रशासनिक कामलाई सहज र छरितो बनाउनेछ।”