
संखुवासभा । संखुवासभाको चैनपुर-११, पुलडाँडा नजिकै लेगुवा-खाँदबारी सडक खण्डमा इँटा बोकेको टिपर साेमबार दुर्घटना भएको छ।
मधेश प्रदेश ०३-००१ क २९२६ नम्बरको टिपर लेगुवाबाट खाँदबारीतर्फ आउने क्रममा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो। दुर्घटनामा टिपर चालक सिन्धुली नगरपालिका-१२ सिन्धुलीका ३० वर्षीय चुक्त बहादुर राउत र सहचालक भोजपुर, ट्यामकेमयु गाउँपालिका-९ का २८ वर्षीय रविन फुँयाल घाइते भएका छन्।
चालक राउतको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ। उनी बोल्न सक्ने अवस्थामा छन्। यस्तै, सहचालक फुँयालको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था पनि मध्यम रहेको छ। दुवै घाइतेको हाल तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
टिपर घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयाे। उक्त स्थान अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट करिब २ किलोमिटर दक्षिणमा पर्छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय र प्रहरीको सक्रियताले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार दुर्घटना भएको खबर आउनासाथ प्रहरी नायब निरीक्षक महेन्द्र प्रसाद यादवको नेतृत्वमा चारजनाको टोली तत्काल घटनास्थल पुगेको थियो।