बस्तीमा चोरी बढेपछि रुपन्देहीमा स्थानीयको रात्रिगस्ती, घर-घरमा कडा सुरक्षा व्यवस्था अपनाउन प्रहरीको अपील

आश्विन २५, २०८२ |अमृता अनमोल
बस्तीमा चोरी बढेपछि रुपन्देहीमा स्थानीयको रात्रिगस्ती, घर-घरमा कडा सुरक्षा व्यवस्था अपनाउन प्रहरीको अपील

बुटवल । घरमा चोरी भए के गर्ने ? तपाई भन्नुहोला प्रहरीमा खबर गर्ने ? तर, रुपन्देहीका केही क्षेत्रमा भने स्थानीयले चोर धपाउन आफैले रात्रीगस्ती सुरु गरेका छन् ।

जेन-जी आन्दोलनपछि संक्रमणकालको मौका छोपेर आपराधिक क्रियाकलाप बढेका छन् । यसैमाथि चाडबाडको समय छ । यही मौकामा रुपन्देहीमा चोरीका घटना बढेका छन् । रातिको समयमा चोरहरुले तालाचाबी लगाएको घरनै फोडेर नगद गरगहना र सामान लगेका छन् । चोरीका घटना बढेपछि रुपन्देहीका केही क्षेत्रमा स्थानीयले रात्रिकालिन गस्ती सुरु गरेका छन् ।

दशैंको समयमा बुटवलको मोतीपुरअन्तर्गत मोतीगन्जमा मात्रै ३ घरमा ताला फोरेर चोरी भयो । दशैं मनाउन घरधनी अन्यत्र जाँदा घरमा चोरि भएको हो । चोरहरुले घरमा भएका नगद रूपैयाँ, सुनका गरगहना तथा ल्यापटपहरू चोरि गरेका छन् । यौटै क्षेत्रमा लगातार चोरी भएपछि बुटवल उपमहानगरको मोतीपुर, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिका क्षेत्रमा स्थानीयले रात्रि गस्ती सुरु गरेका हुन् ।

रुपन्देही प्रहरीमा भने दशैंको समयमा ४ घरमा मात्र चोरी भएको जाहेरी दर्ता भएको छ । कारबाही हुन्न भन्ने भ्रमले नागरिकले घर फोरेर सामान चोरी हुँदा पनि प्रहरीलाई खबर गरेका छैनन् । बरु आफ्नो सुरक्षाका लागि भन्दै रात्रि गस्ती गरेका छन् ।

संक्रमणकालको फाइदा उठाउँदै भएका यस्ता चोरी रोक्न प्रहरी प्रशासन सक्रिय हुन जरुरी छ । चोरीका घटनाको सत्यतथ्य अनुसन्धान गरी चोरहरु पक्राउ गरेमात्र चोरीका घटना रोकिने छन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।