बीपी राजमार्गको अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न, यात्रामा कस्तो सावधानी अपनाउनुपर्ला ?

आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्गको अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न, यात्रामा कस्तो सावधानी अपनाउनुपर्ला ?

काभ्रे । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले ठाउँ-ठाउँमा बगाउँदा अवरूद्ध भएको बीपी राजमार्गको अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार गत साल बगाएको ८ किलोमिटर सडकलाई बर्खा याममा समेत सञ्चालन गर्ने गरी निर्माण गर्दा ८ करोड रूपैयाँ खर्च भएको थियो । शनिबारदेखि नियमित सवारी आवागमन सञ्चालन गर्ने तयारी भएको बाटोको मर्मतको अवस्था कस्तो छ अनि यात्रामा कस्तो सावधानी अपनाउनुपर्ला ?

यो वर्ष १ करोड रूपैयाँमा अस्थायी ट्र्याक खोल्न खर्च भइसकेको उहाँले जानकारी दिनुभयाे । योगेशका अनुसार आइतबारदेखि सवारीसाधनको आवागमन सहज रूपमा सञ्चालन हुने गरी तयारी पूरा भएको छ। साथै उहाँले सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउन आग्रहसमेत गरेका छन्।

सडक डिभिजनका ३० स्काभेटर तथा अन्य मेसिनरी उपकरणले निरन्तर रूपमा मर्मत र ट्र्याक पुनःस्थापनाको काम गरेपछि बाटो गाडी चलाउन लायक बनाइएको हो। तर स्थायी निर्माण पनि सँग/सँगै अघि बढ्ने भएकाले सवारी सञ्चालन गर्दा ध्यान दिन अनुरोध गरिएको छ। 

यता बीपी राजमार्ग नै रोशी गाउँपालिकाको ८० प्रतिशत भूगोल हुँदै जाने भएकाले राजमार्ग अवरूद्ध हुँदा पालिकाका वडा जोड्ने सडकसमेत बन्द भएका छन्। रोशी खोलाको बाढी र पहिरोमा परेर २ जनाले ज्यान गुमाएका छन् भने सबै वडाबाट नागरिकलाई सेवा दिइरहेको पालिका उपाध्यक्ष मिम बहादुर वाइबाले जानकारी दिनुभयाे ।

सडक डिभिजनका तथ्यांकअनुसार २०८१ साल असोज दोस्रो साताको रोशी खोलाको बाढीले करिब ८ किलोमिटर सडक बगाएको थियो भने गत असोज १७ र १८ गतेको बाढीले फेरि १४ स्थानमा ५ किलोमिटरभन्दा धेरै सडक बगेको थियो। 

सडक नखुल्दा महाभारत गाउँपालिका १७ गतेदेखि पूर्ण रूपमा सडक सञ्जालविहीन बनेको छ। बीपी राजमार्गबाट नै सहायक बाटो प्रयोग गरेर पालिकाको केन्द्र पुग्नुपर्ने सबै सडक अवरूद्ध भएका छन्। विद्युत् सञ्चालनमा ल्याइएको र पालिकाभित्रका करिब २३ घरमा क्षति पुगेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयाे।

त्यस्तै रोशी गाउँपालिकाका धेरै क्षेत्रमा पनि सडक सञ्जाल टुटेकोमा अब भने आवागमन सहज हुने भएको छ। हाल दुवै गाउँपालिकाका अध्यक्षहरू, सडक डिभिजनका प्रमुख सुमन योगेश, पूर्वाधार विकास कार्यालयका प्रमुखलगायतको प्राविधिक टोली बीपी राजमार्ग तथा प्रादेशिक राजमार्ग दुवै खोल्ने कार्यमा फिल्डमै खटिएका छन् । 

डिभिजनले स्थायी पुनर्निर्माणको तयारी सुरू भइसकेको बताउँदै यात्रु र सवारी चालकलाई सावधानीपूर्वक सवारी चलाउन आह्वान गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.