दोलखा । दोलखाको विगु गाउँपालिका-१ चीनसँग सिमा जोडिएको लप्ची पुग्ने एक मात्र पैदलमार्गमा भीषण पहिरो खसेको छ ।
जस्का कारण लप्ची पुगेका पर्यटक र स्थानीय सम्पर्क विच्छेदमा परेका छन् । मंगलबार बिहान लप्ची गाउँको पैदलमार्गअन्तर्गत देउरालीमा भीषण पहिरो खस्दा पैदलमार्ग पूर्ण रूपमा बन्द भएको गैरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताउनुभयाे ।
उहाँकाअनुसार पर्यटकीय सिजन भएकाले त्यस क्षेत्र घुम्न जाने बाटो-बाटै फर्कीएका छन् । पुगेकाहरू पहिरोका कारण लप्चीमै अड्कीएका छन् । पहिरो पन्छाएर पैदलमार्ग सञ्चालनमा केही दिन लाग्ने उहाँले जानकारी दिनुभयाे ।
तत्काल लागि त्यसतर्फ जान रोक लगाइएको छ । निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाले जथाभावी सडक खन्ने र विस्फोटक पदार्थ प्रयोग गर्दा त्यस क्षेत्रमा पटकपटक पहिरो जान थालेको छ ।