फेरि एकपटक विश्वकपको दिशातर्फ नेपालको पाइला

आश्विन २५, २०८२ |सुवास रोकाया
फेरि एकपटक विश्वकपको दिशातर्फ नेपालको पाइला

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल भोलि अर्थात् आइतबार हुँदै छन् । 

नेपाल, यूएई र ओमान अपराजित रहँदै अघि बढ्दा जापान, कतार र सामोआले पनि सुपर सिक्स चरणमा स्थान बनाएका छन् । अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । अल अमेरात स्टेडियममा ओमान र कतारबीचको खेलसँगै सुपर सिक्स चरणको सुरूवात हुने छ ।

ओमानको मरूभूमिबाट फेरि एकपटक विश्वकपको दिशातर्फ नेपालको पाइला अघि बढेको छ । समूह चरणमा अपराजित यात्रा कायम गर्दै नेपाल अहिले सुपर सिक्सका लागि तयार छ । मञ्चबाट अब केबल तीन टोलीले मात्रै भारत र श्रीलंकामा हुने आगामी टी-२० विश्वकपमा आफ्नो टिकट निश्चित गर्नेछन् ।

कुवेतमाथि ५८ रनको सानदार जित र जापानविरूद्ध केही संघर्ष गरे पनि नेपालले समूह चरणमा कुनै हार बेहोर्नु परेन । कुवेतविरूद्ध कुशल भुर्तेलको अर्धशतक, दुवै खेलमा गुल्सन झाको आक्रामक क्यामियो र दीपेन्द्र सिंह ऐरीको फिल्डिङ र संयमित फिनिसिङ नेपालका लागि समूह चरणको हाइलाइट्स बने । बलिङमा सन्दीप लामिछानेको कमब्याक पनि नेपालको प्रभावशाली प्रदर्शनमा म्याच विनिङ सावित भयो ।

नेपाल, यूएई र ओमान अपराजित रहँदै दुई-दुई अंकसहित अगाडि बढेका छन् । जापान, कतार र सामोआ पनि एक-एक जितका साथ सुपर सिक्समा छन् । समूह चरणमा पराजित टोलीविरूद्ध जितको अंक सुपर सिक्समा जोडिने भएकाले अहिले अंकतालिकामा ओमान शीर्षमा छ । नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन् । शीर्ष ३ स्थानका टोलीको २-२ अंक रहे पनि रन रेटले वरियता निर्धारण गरिएको हो ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग प्रतिस्पर्धा गर्दै छ । यस खेललाई नेपाल क्रिकेट संघ-क्यानले एल क्लासिकोको संज्ञा दिएको छ । दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन् । त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको युद्ध हुनेछ । यूएईका कप्तान मोहम्मद वसीम उत्कृष्ट र्फममा छन् । जसको ८४ रनको इनिङ्सले मलेसियाविरूद्ध यूएईले जित हात पारेको थियो ।

नेपालको ब्याटिङले भने पछिल्लो समय क्षमताअनुसार प्रदर्शन गर्न सकेको छैन । विशेषगरी मिडिल अडरमा कप्तान रोहित पौडेल, सन्दीप जोरा र कुशल मल्लको ब्याट समूह चरणमा मौन नै रहृयो । अब सुपर सिक्समा नेपाली ब्याटरहरूका लागि गल्ती गर्ने कुनै अवसर हुने छैन । 

गुल्शन झा यो प्रतियोगितामा नेपालका लागि एक्स फ्याक्टर सावित भएका छन् । उनको बलिङ र ब्याटिङ नेपालको अपराजित यात्रामा निर्णायक सावित बनेको छ । प्रतियोगितामा हालसम्म दीपेन्द्रको आक्रामक स्वरूप देख्न पाइएको छैन । दुवै खेलमा सन्दीप लामिछाने आफ्नो पहिलो स्पेलमा महंगो सावित भए पनि कमब्याक गर्न सक्ने उनको खुबीले नेपाललाई हरेक पटक खेलमा फर्काएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ । बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ । नेपालले आफ्नो क्षमताअनुसार खेल्न सके छनोट प्रतियोगिताको विजेताका रूपमा विश्वकपमा पुग्न सक्छ । तर नेपाललाई गल्ती गर्ने कुनै प्रकारको छुट हुने छैन । सुपर सिक्सको यो यात्रा नेपाली क्रिकेटका लागि नयाँ अध्याय बन्ने छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।