सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-९ भैंसेस्थित सुनकोशी नदीमा एक बालकको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १६ गणको गोताखोर टोलीले नदीबाट अन्दाजी १२ बर्षका बालकको शव खोलाबाट निकालेको हो । फेला परेको शवकाे पहिचान खुलाउनका लागि इलाका प्रहरी कार्यालय बलेफीलाई बुझाएको गणका प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिनुभयाे ।
यसअघि असोज १० गते बलेफी गाउँपालिका-५ अरनिको राजमार्गबाट एक जिप भोटेकोशी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको उक्त जिप दुर्घटनापछि नदीमा खसेको थियो। बेपत्ता दुबैको खोजी अहिलेसम्म जारी छ।
त्यस्तै, असोज ८ गते चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटेफुल्पिङकी १७ वर्षीया फूलमाया लामा र ५ वर्षीया मनमाया लामा पनि पहिरोमा परेर बेपत्ता भएका थिए। उनीहरूको पनि शव अहिलेसम्म भेटिएको छैन् ।सुकुटे पर्यटन व्यवसायी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।