काठमाडौं । नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरूङलाई सम्मान गरेको छ ।
विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । शुक्रबार एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् ।
सेमिफाइनलमा हाकोभालाई ७-० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २-० ले निराश पारेकी थिइन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् । यसैगरी विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ गतेदेखि मिति २०८२ कार्तिक २ सम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउने स्वनिम मानन्धर, सविना श्रेष्ठलाई बिदाइ गरिएको छ ।
प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरूष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् १३औं दक्षिण एसियालीका दोहोरो स्वर्ण पदक विजेता एवं हाल राष्ट्रिय टिमका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी गराए ।
उनीरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहाले सम्मान, बधाई, तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिएका थिए ।