काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा जेन-जीका प्रतिनिधिलाई सहभागी गराउने र फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका विषयमा जेन-जीका प्रतिनिधिहरूसँग शनिबार छलफल गर्नुभएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री र जेन-जीका प्रतिनिधिबीच शीतल निवासमा त्रिपक्षीय वार्ता गर्ने भनिए पनि राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि प्रधानमन्त्री कार्कीले जेन-जी प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो । जेन-जीका प्रतिनिधिहरूले चुनावमा दलहरूलाई निषेध गरेर जान नहुने सुझाव दिएका छन् ।
यसैगरी उनीहरूले प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा चार जना जेन-जी प्रतिनिधिलाई सहभागी गराउन खोजेको विषयमा पनि चासो राखेका थिए । त्यस क्रममा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा जेन-जीकै प्रतिनिधिहरूलाई सहभागी गराउने जानकारी दिनुभएको जेन-जी अभियन्ता मिराज ढुंगानाले बताउनुभयो ।
छलफलमा जेन-जी आन्दोलनका घाइतेहरूलाई राज्यले दिने सेवा सुविधाका विषयमा पनि कुरा भएको छ । झन्डै ३ घण्टा भएको सरकार र जेन-जी प्रतिनिधिहरूबीच भएको छलफलमा आज ठोस सहमति भने भएन । केही जेन-जी प्रतिनिधिहरूले भने आफूहरूलाई वार्ताको सहभागी नगराएको भन्दै शीतल निवास बाहिर नाराबाजी गरेका थिए ।
यसैगरी पुरूषोत्तम यादव नेतृत्वको जेन-जीको एउटा समूह भने वार्तामा सहभागी नै नभई बाहिरियो । आफ्नो समूहका प्रदेश प्रतिनिधिहरूलाई प्रवेश नदिएको भन्दै यादव नेतृत्वको टोली बाहिरिएको हो । राष्ट्रपतिको सचिवालयले जेन-जीहरूसँग सोमबार फेरि राष्ट्रपतिसहितको त्रिपक्षीय वार्ता हुने जनाएको छ ।