घाइते र सिकिस्त विरामीको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर

आश्विन २१, २०८२ |विप्लव भट्टराई
घाइते र सिकिस्त विरामीको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर

इलाम । नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार दुई जना विरामीलाई इलमाको माईजोगमाई-६ प्याङबाट उद्धार गरिएको छ ।

एकजना गर्भवती महिला र अर्का एक सिकिस्त विरामीलाई उद्धार गरी कोशी अञ्चल अस्पताल लगिएको इलामको गडिथुम्कास्थित नेपाली सेनाको रणशार्दुल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिनुभयो । हरिमाया थापा र नीरू लिम्बुलाई अस्पताल पुर्याइएको हो । 

असोज १८ को विषण वर्षापछि इलामको सडक सञ्जाल तहसनहस भएको छ । १९ गतेदेखि नै सेनाको हेलिकप्टरले घाइते र सिकिस्त विरामीको उद्धार गरिरहेको छ । १९ गते माङसेवुङबाट ३ जना, २० गते सन्दकपुरको मावुवाट ४, माईजोगमाई-५ सिरिशेबाट १ र भित्तेबाट १ जनालाई अस्पताल पुर्याइएको थियो । 

गर्भवती, प्रकोपका घाइते र गम्भीर विरामीलाई अरू माध्यमबाट अस्पताल पुर्याउन नसकिने अवस्थामा सेनाको हेलिकप्टर प्रयोग गरिने गणपती घलेले बताउनु भयो ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।