काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि असोज २० गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले उक्त अवधिमा राति सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
यसैगरी आवश्यक सतर्कता अपनाउन पनि प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालयले विपद्का कारण हुन सक्ने जनधनको क्षति हुन नदिन हेटौंडा-काठमाडौं सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
कान्ति लोकपथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने सडकमा असोज २० गतेसम्म अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडा-भैंसे-काठमाडौं सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
ललितपुर प्रशासनले पनि कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका तथा महांकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी, संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न, पूर्वतयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न पनि प्रशासनले आग्रह गरेको छ।
बीपी राजमार्गमा पनि असोज १६ देखि १५ दिनसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेको बिहिबार बसेको बैठकले बीपी राजमार्गमा साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मको अवधिमा सवारी नचलाउन भनेको हो । समितिका अनुसार काठमाडौंबाट जाने सवारीलाई काभ्रे भन्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई नेपालथोकमा रोकिनेछ ।
यसैगरी, काठमाडौं प्रशासनले पनि असोज १७ देखि २० गतेसम्म जरूरी नभइ लामो दूरीमा रातको समय यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्प्रति सचेत रहन र जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ ।
सार्वजनिक सूचनामार्फत प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरेको छ । त्यसैगरी बेशीशहर चामे सडकमा पनि राति सवारी चलाउन सरोक लगाइएको छ ।
मनाङबाट लमजुङको बेशीशहरसम्मको मनाङ सीमानाबाट बेलुकी साढे ६ बजेसम्म र लमजुङबाट मनाङतर्फ बेलुकी ७ बजेसम्म सवारी छुटिसक्नुपर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।