काठमाडौं । अर्घाखाँची, खोटाङ, सिन्धुली र गुल्मीमा साेमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुनाको साथै ६५ जना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको मिनिबस सन्धिखर्क ९ टारीमा राति २ बजे दुर्घटना भएकाे हो ।
मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका १० वर्षीय अरूण थापामगर र मदाने ७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बिजुलेस्थित मध्यपहाडी लोकमार्गमा सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । काठमाडौंबाट दिक्तेल जाँदै गरेको ना १ ज ६०९४ नम्बरको सुमो दुर्घटना भएको हो । घाइते सबैको खोटाङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, बिपी राजमार्ग हुँदै सिन्धुली जाँदै गरेको बोलेरो खुर्कोटनजिकै सुनकोशीमा खस्दा १९ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट आउँदै गरेको लु १ ख ७७७६ नम्बरको बस रेसुंगा नगरपालिकामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।