काठमाडौं । काठमाडौंको काष्ठमण्डपनजिकै साेमबार बिहान लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
काष्ठमण्डप पछाडिका तीन वटा घर र मन्दिरमा बिहान ३ बजेदेखि लागेको आगो दमकलको सहयोगमा निभाइएको हो । आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएका थिए ।
बिहान ४ बजेसम्ममा आगोले ठूलो रूप लिएको स्थानीय घनश्याम श्रेष्ठले बताउनुभयो । आगोले आसपासका अन्य केही घरमा पनि क्षति पुर्याएको उहाँले बताउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाइएको थियो । कपडा गोदामबाट आगलागी सुरू भएको स्थानीयले बताएका छन् ।