काठमाडौं । गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड, लुटपाटलगायतका घटनाका ५० हजार बढी ईमेल प्रहरीले प्राप्त गरेको छ ।
जेन-जी आन्दोलनमा भएका आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रमाण उपलब्ध गराउन प्रहरीले सार्वजनिक आह्वान गरेको थियो । आन्दोलनमा त्यस्ता गतिविधिका प्रमाणस्वरूप नागरिकले करिब ५० हजारभन्दा बढी प्रमाणसहितका ईमेल प्रहरीलाई पठाएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा मात्रै ३० हजार बढी प्रमाण प्राप्त भएका छन् । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबी र अन्य निकायमा गरी ५० हजारभन्दा बढी प्रमाण संकलन भएका छन् ।
कसैले फोटो तथा भिडियो पठाएका छन् भने कसैले लिङ्कहरू पठाएको प्रहरीले जनाएको छ । प्राप्त प्रमाणलाई प्रहरीले छुट्टै डेस्क खडा गरेर अभिलेख राखेको छ । प्राप्त प्रमाणको परिक्षण गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । जनस्तरबाट प्राप्त प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्ने बताएको छ ।
नागरिकले पठाएका प्रमाणका आधारमा अनुसन्धान गरी कारबाही नै थालेको प्रहरीले जनाएको छ । आपराधिक गतिविधिमा संलग्न केही व्यक्ति पक्राउ परिसकेका छन् ।
यता जेन-जी आन्दोलनमा तत्कालीन सरकारले गरेको दमन र आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगलाई पनि प्रहरीले ती प्रमाण उपलब्ध गराउने छ ।