काठमाडौं । बुधबार सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।
आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ ।
यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् ।