रामेछापमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकता समस्याबारे छलफल

भाद्र १८, २०८२ |नवराज श्रेष्ठ
रामेछापमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकता समस्याबारे छलफल

रामेछाप । जिल्लाको मन्थलीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी छलफल भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोग, मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार छलफल भएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मण भुजेलले प्रशासनिक सेवाबारे जानकारी दिँदा, सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापका इन्स्पेक्टर विकास उप्रेतीले विपद् व्यवस्थापनबारे जानकारी गराउनुभयो । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले लागू औषध दुरुपयोग र नियन्त्रणका चुनौतीबारे जानकारी गराउनुभयो ।

नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की र नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले यस्ता कार्यक्रम वडा तहसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शान्ति सुरक्षा सुदृढ गर्न नियमित छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक तीन–तीन महिनामा दुई–दुई पालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले जिल्लामा नागरिकता बारे देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन लगायत सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्थली नगरका विभिन्न वडाका जनप्रतिनिधि, वडा सचिव, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, सहित सर्वसाधारणको सहभागिता थियो।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।