काभ्रे । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान करिब ११ बजे काभ्रे मालपोत कार्यालयमा छापा मारेको छ।
छापामारी क्रममा खरदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई सेवाग्राहीसँग लिएको २ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।
स्रोतकाअनुसार भण्डारीले सेवाग्राहीसँग काम अगाडि बढाउने नाममा अवैध रकम लिँदै आएको गोप्य सूचनाका आधारमा आयोगले निगरानी गर्दै आएको थियो। त्यही क्रममा रकमसहित रंगेहात पक्राउ गरिएको हो।
अख्तियारको फिल्डमा खटिएका एक कर्मचारीले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै अहिले भण्डारीलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने प्रक्रिया भइरहेको जानकारी दिएका छन्।
पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको छ। आयोगले आवश्यक प्रमाण संकलन गरी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ। साथै, सेवाग्राहीलाई घुस नदिन र दबाब परेमा तत्काल उजुरी गर्न आग्रह गरिएको छ।