.png&w=1000&height=550)
सल्यान । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा सम्पूर्ण तयारी पूरा भएको छ ।
मतदान केन्द्र निर्माणदेखि सुरक्षा संयन्त्र परिचालनसम्मका सबै काम सकिएको प्रशासनले जनाएको छ । शान्तिपूर्णरूपमा मतदान गराउन सल्यानका एसपीको कमान्डमा सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यानमा एक सय १७ मतदानस्थल र दुई सय पाँच मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ४३ वटा मतदान स्थल 'अति संवेदनशील' सूचीमा परेका छन् । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ती क्षेत्रमा विशेष निगरानी बढाइएको छ ।
निर्वाचन अवधिभर मदिरा बिक्री-वितरणमा निगरानी कडा बनाइएको छ भने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि निगरानी संयन्त्र सक्रिय बनाइएको प्रशासनले जनाएको छ । विशेष गरी दुर्गम भेगमा सुरक्षा चुनौती हुनसक्ने आकलन गर्दै सुरक्षा निकायले तयारी चुस्त पारेको दाबी गरेको छ ।
निर्वाचनका लागि सल्यानमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली १३ स्थानमा खटिएको छ । एक हजार ४०६ जना निर्वाचन प्रहरीसहित करिब एक हजारको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षाकर्मीको टोलीले जिल्लाभर पैदल, मोटरसाइकल र अन्य सवारी साधनमार्फत गस्ती गरिरहेको छ ।
जिल्लामा प्रहरी उपरीक्षक एसपीको नेतृत्वमा निर्वाचन संयोजक खटाइएको छ । जिल्लाका सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसेको छ । त्यहाँ खटिने १ हजार २ सय ३० कर्मचारी पुगिसकेका छन् । जिल्लामा १२ दलीय २ स्वतन्त्र गरी १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने १ लाख ६२ हजार ४ सय ४९ मतदाता छन् ।