.png&w=1000&height=550)
बुटवल । प्रतिनिधि सभा निर्वाचनको लागि रूपन्देहीमा जिल्ला र क्षेत्र स्तरको तयारी सकिएको छ ।
अब बाँकी मतदान स्थलको तयारी मात्रै छ । रूपन्देहीमा प्रतिनिधि सभा निर्वाचनका लागि पाँच निर्वाचन क्षेत्र छन् । पाँचवटै निर्वाचन क्षेत्रहरूले आफ्नो क्षेत्र भित्रका मतदान स्थलमा आवश्यक पर्ने निर्वाचन सामग्री मतदान अधिकृतहरूलाई जिम्मा लगाएका छन् ।
मंगलबार बिहानैदेखि निर्वाचन कार्यालयहरूमा निर्वाचन केन्द्रमा आवश्यक पर्ने सामाग्री बुझ्नेहरूको भीडभाड थियो । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि खटिने मतदान अधिकृतदेखि सुरक्षाकर्मी आ-आफ्नो कार्यक्षेत्रमा जानका लागि कोही निर्वाचन सामग्री बुझ्दै थिए र बुझेका सामान लैजान व्यस्त थिए ।
निर्वाचन कार्यालयले ५१ प्रकारका निर्वाचन सामग्री उपलब्ध गराएको हो । निर्वाचन क्षेत्रहरूले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री रूजु गराई सशस्त्र प्रहरीको रोहबरमा केन्द्रहरूमा निर्वाचन सामग्री जिम्मा लगाएको छ।
भारतीय सिमा क्षेत्रसँग जोडिएको छ, रूपन्देही । निर्वाचन आयोगले रूपन्देहीलाई संवेदनशील जिल्लाका रूपमा लिएको छ । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित तीन तहको सुरक्षा घेरा तयार पारिएको छ । सुरक्षाका दृष्टिले जिल्लाका सबै मतदान स्थलहरूलाई विशेष रूपले हेरेर तयारी गरिएको प्रहरीको भनाइ छ ।
रूपन्देहीमा दुई सय १३ मतदान स्थल छन् । तिनमा सात सय ३६ मतदान केन्द्र छन् । निर्वाचन आयोगले निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि तीन मतदान केन्द्र र जिल्ला कारागारमा एक मतदान केन्द्र रहने गरी अस्थायी केन्द्र थप गरेको छ ।