प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण, भयरहित र मर्यादित हुने पर्यवेक्षकको निष्कर्ष

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण, भयरहित र मर्यादित हुने पर्यवेक्षकको निष्कर्ष

काठमाडौं । राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन् । 

आमनिर्वाचन पर्यवेक्षण समिति- जियोकले बिहीबार हुने निर्वाचनमा मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष समितिले सार्वजनिक गरेको छ । 

जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग, समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र निर्वाचन सुरक्षाको अवस्थाबारे अध्ययन गरेको हो । राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको जियोकका महासचिव कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

निर्वाचन पर्यवेक्षणका लागि खटिनुभएका प्राध्यापक चिरञ्जीबी खनालले निर्वाचनको तयारी रफ्तारमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको, मतदान केन्द्र निर्माण भइरहेको तथा सुरक्षा निकाय पनि जिम्मेवारीपूर्वक संवेदनशीलताका साथ आफ्नो स्थानमा तैनाथ भएको पाइएको जानकारी दिनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं जियोकका राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले निर्वाचनको लागि शान्तिपूर्ण वातावरण रहेको तथा मतदान केन्द्रका लागि आवश्यक पर्ने सबै स्रोतसाधनसहित कर्मचारीसहितको टोली मतदानस्थल पुगिरहेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.