निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधैं अदालत पुर्‍याउँछौँ : गृहमन्त्री अर्याल

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधैं अदालत पुर्‍याउँछौँ : गृहमन्त्री अर्याल

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको बताउनुभएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउनुभएको हो । उहाँले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपील गर्नुभएको हो । गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताउनु भयो । 

गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।

गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनै पनि प्रकारको असुरक्षाको महशुस गर्नुनपर्ने स्पष्ट पार्नुभयो ।

मतपेटिका ढुवानीमा कडा सुरक्षा र गाडीको सिट–प्लान नै तय

मतदान सम्पन्न भइसकेपछि मतपेटिकाहरू कसरी सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइन्छ भन्ने विषयमा पनि गृहमन्त्री अर्यालले प्रष्ट पार्नुभयो । सुरक्षा योजनाको अनुसूची २ मै मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट लेखिएको उहाँले जानकारी दिनुभयो । 

उहाँकाअनुसार गाडीमा सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्नेछन् । त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधिहरू रहनेछन् । यसका साथै, उक्त मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कर्टिङ गर्ने र आवश्यक परेको खण्डमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याइने

निर्वाचनको समयमा कुनै पनि गैरकानुनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ । त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सिमित नरही कडा कानुनी कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो ।

लोकतन्त्रको गुणस्तर र राजनीतिक सुशासनका लागि सुझबुझपूर्ण मतदानको अपील

अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनहरू भन्दा अझै सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गर्नुभयो । उहाँले नागरिकको भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गरेको बताउनु भयो । यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.