संखुवासभामा पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध

भाद्र १६, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभामा पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध

संखुवासभा । गएराति परेको अविरल वर्षासँगै आएको पहिरोका कारण उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको छ। 

मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा पहिरो खस्दा राजमार्गमा आवतजावत पूर्णरूपमा बन्द भएको हो। स्थानीय प्रहरीका अनुसार आइतबार राति आएकाे वर्षापछि खसेको पहिरोले करिब पाँच सय मिटर सडक बगाएको छ। 

यसले संखुवासभाको भोटखोला गाउँपालिका जाने मुख्य बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सडक अवरूद्ध भएपछि भोटखोला र मकालुलगायतका उच्च भेगका बासिन्दा आवतजावतमा मारमा परेका छन्। 

अत्यावश्यक सामग्री बोकेका गाडी र यात्रुहरू बीचमै रोकिएका कारण थप समस्या भएको स्थानीयले बताएका छन्। केही बासिन्दाले पैदल यात्रामार्फत जोखिम मोलेर यात्रा गरिरहेका छन्।

उत्तरदक्षिण काेशी सडक याेजनाका इन्जिनियर नरेश जिरेलले पहिरो पन्छाउने काम भइरहेकाे बताउनुभयाे । यसअघि पनि वर्षायाममा नेताभिर क्षेत्र बारम्बार पहिरो खस्ने जोखिमयुक्त स्थलका रूपमा चिनिँदै आएको छ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।