संखुवासभा । खाँदबारी नगरपालिका-४ सेकाहा च्यानडाँडामा सुख्खा पहिरो खस्दा स्थानीय धर्मगुरू दोर्ची लामाको घर भत्किएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार जस्तापाताले छाएको दुई तले ढुंगामाटोको घर मंगलबार बिहान पहिरोले पुरै क्षतिग्रस्त बनाएको हो।
घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रूपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
लामाको घर केही समयदेखि जोखिममा रहेको र सडक निर्माणका कारण जमिन चिराचिरा परेको पीडित परिवारको भनाइ छ। घरमुनि निर्माणाधीन कोशी राजमार्गको खाँदबारी-किमाथांका सडक खण्डमा एक्स्काभेटरले ढुंगा फुटाउँदा घरमा प्रत्यक्ष असर परेको उनीहरूको आरोप छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पहिरो पन्छाइएपछि अहिले सडक सुरक्षित रहेको जनाइएको छ। धर्मगुरूका रूपमा पुरोहित कर्मकाण्ड गर्दै आएका लामा स्थानीय बासिन्दाले संयुक्त रूपमा घर बनाइ बसोबासको व्यवस्था मिलाएका हुन् ।