पहिरोले ईन्टेक पुरिएपछि खाँदबारीमा पानी आपुर्ति बन्द

भाद्र ९, २०८२ |दीपेन्द्र शाक्य
पहिरोले ईन्टेक पुरिएपछि खाँदबारीमा पानी आपुर्ति बन्द

संखुवासभा । खाँदबारी नगरपालिका-४ महभीरस्थित खानेपानी मुहानमा गएको पहिरोका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी वितरण ठप्प भएको छ। साउन २५ पछि लगातार पहिरो खस्दै आएको र भदौ ५ गते ठूलो पहिरोले ईन्टेक पुरेपछि समस्या भएको हो।

खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालकाअनुसार भदौ ५ गते पुरिएको ईन्टेक तत्कालै सफा गरिएको थियो। तर पहिरोले ल्याएको ठूलो मात्रामा हिलो र फोहोर अझै हटाउन नसकिएको कारण वितरण सुरू गर्न नसिएको उहाँले जानकारी दिनुभयाे। 

खाँदबारी बजारमा करिब एक हजार बढी खानेपानी प्रयोगकर्ता रहेका छन्। दैनिक २० लिटर प्रति सेकेन्ड करिब १० लाख लिटर पानी आवश्यक पर्नेमा आपूर्ति ठप्प भएपछि स्थानीयवासी पुराना कुवा र धारामा निर्भर हुन बाध्य भएका छन्। बरालका अनुसार लगातारको वर्षा र पहिरोका कारण नियमित मर्मतसम्भारमा पनि कठिनाइ भएको छ।

स्थानीयवासीले खानेपानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त बनेको गुनासो गरेका छन्। बिहान बेलुकी पुराना कुवामा भीड लाग्न थालेको छ । विद्यालय र होटल व्यवसाय समेत प्रभावित भएका छन्।

खानेपानी उपभोक्ता संस्थाले समस्या समाधानका लागि स्थानीय तह, प्राविधिक र उपभोक्तासँग निरन्तर छलफल गरिरहेको जनाएको छ। बरालले यथाशीघ्र हिलो हटाएर खानेपानी आपूर्ति नियमित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे। 

पहिरो हटाउन केही समय लाग्ने भएकाले वैकल्पिक स्रोत व्यवस्थापन गरेर पानी सञ्चालमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयाे । यस वर्षको अविरल वर्षाले समस्या अझ गम्भीर बनाएको छ। स्थानीयवासीले दीर्घकालीन समाधानका लागि वैकल्पिक मुहान खोज्न र स्थायी संरचना निर्माण गर्न आग्रह गरेका छन्।

खाँदबारीवासी अहिले पुराना कुवा र धारामा निर्भर रहन बाध्य छन् भने आपूर्ति पुनः सुरू नहुन्जेलसम्म खानेपानी संकट बढ्दै जाने देखिएको स्थानीयको भनाइ छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।