डडेल्धुरामा सुत्केरीपछिको जटिलताका कारण २७ वर्षीया भुवानी पाण्डेय भट्टको निधन

श्रावण १५, २०८२ |वरुण पनेरू
डडेल्धुरामा सुत्केरीपछिको जटिलताका कारण २७ वर्षीया भुवानी पाण्डेय भट्टको निधन

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-७ साँदनीकी २७ वर्षीया भुवानी पाण्डेय भट्टको सुत्केरीपछिको जटिलताका कारण निधन भएको छ।

साउन १३ गते साँझ सुत्केरी व्यथा लागेपछि राति ९: ४५ बजे उनी स्थानीय साँदनी स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। साउन १४ गते बिहान ७:१८ बजे तेस्रो सन्तानका रूपमा छोराको सुरक्षित जन्म दिए पनि सुत्केरीपछिको प्रक्रियामा समस्या देखिएको थियो। 

सालनाल समयमा नआएको र अत्यधिक रक्तस्राव भएपछि उनलाई तत्काल जोगबुडा अस्पताल रेफर गरिएको थियो। तर, त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि भुवानीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। 

आईसीयुमा राखेर उपचार भइरहेकै क्रममा बिहिबार बिहान करिब ११ बजे उनको निधन भएको वडा नं. ७ का अध्यक्ष कर्ण बहादुर धामीले पुष्टि गर्नुभयाे। नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।