बाजुरा । जिल्लाको हिमाली गाउँपालिका-५ मा पर्ने कवाडी-क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभएकाे छ।
उहाँले दिएको जानकारीअनुसार सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउने क्रममा जीप दुर्घटना भएको हाे । जीपको क्षमता भन्दा बढी यात्रु सवार रहेको र सडक कच्चीका कारण जीप अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरी निरिक्षक चौधरीले बताउनुभयाे ।
जीपमा सवार भएका १९ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीप दुर्घटनामा परी मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकाया रहेकी छन् ।
जीप दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था समान्य रहेको छ । उनीहरूको उद्धारका लागि हिमाली गाउँपालिकाको एम्ब्लेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरको पहल प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयाे ।
उहाँकाअनुसार जिल्ला प्रशासन कार्यालय बाजुराबाट जीप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइ सकेको पाध्याले बताउनुभयाे । घाइतेको क्युडीको टुनीगडामा हिमाली गाउँपालिकाको स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।