दार्चुला । धनगढीदेखि गोकुलेश्वर आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द नगरपालिका-६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिप चालक डिलाशैनी गाउँपालिका-१ का २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले बताउनुभयाे । घाइते ६ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइते हुनेमा डिलाशैनी-१ का ४५ वर्षीय रामकुमार राना, सोही ठाउँमा ५१ वर्षीय कलमा घामी, २७ वर्षीय राजेन्द्रबहादुर खत्री, २५ वर्षीय हेमन्तप्रसाद, २१ वर्षीया भागरथी खत्री र उनकी २ वर्षीया छोरी एलीसा खत्री रहेका छन् ।
घाइते सबैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये कलमा धामिको अवस्था गम्भीर रहेको छ । जिप सडकबाट करीब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयाे ।