सिरहा । सिरहा प्रहरीले बैंकका कर्मचारी र प्रहरीसमेतलाई पेस्तोल देखाएर रकम लुटपाट गरेको घटनाका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको रकम लुटपाट घटनाका प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-१२ का ३० वर्षीय सुजन भन्ने सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । लोहनीलाई सीमावर्ती क्षेत्र सिरहा नगरपालिका-१७ खैरटोकाबाट पक्राउ गरिएको हो ।
२०७९ फागुन १० मा मिर्चैयास्थित बैंकको शाखाबाट ९ लाख रूपैयाँ बोकेर कल्याणपुर शाखा जाने क्रममा बैंकका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीसमेत लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेका थियो ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, नम्बर नखुलेको दुई मोटरसाइकलमा सवार भएर आएका उनीहरू त्यसक्रममा उनीहरू इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवास र बैंकका ती कर्मचारीलाई कुटपिट पनि गरेका थिए ।
घटनापछि उनी लुकीछिपी भारत बस्दै आएका थिए । लोहनीलाई आवश्यक कारबाहीका सिरहा जिल्ला अदालतमा पेस गरिएको ? डीएसपी पासवानले जानकारी दिए ।