काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले १२ दिनको युद्धमा इरानले इजरायलमाथि विजय प्राप्त गरेको दाबी गर्नुभएको छ ।
उहाँले अमेरिकालाई इरानले बलियो झापड लगाएको दाबीसमेत गर्नुभयो । इरानमाथि पुन: आक्रमण भए प्रत्याक्रमण गर्ने चेतावनीसमेत उहाँले दिनुभएको छ ।
इजरायल-इरानबीच मंगलबार युद्धविराम भएयता पहिलो अभिव्यक्ति दिँदै सर्वोच्च नेता खामेनीले इरानमाथि आक्रमण गरेर अमेरिकाले कुनै उपलब्धि हासिल नगरेको बताउनुभएको छ ।
उहाँले अमेरिकी आक्रमणको प्रभावबारे राष्ट्रपति ट्रम्पले अस्वाभाविक रूपमा बढाइचढाई गरेको आरोपसमेत लगाउनुभयो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने अमेरिकी आक्रमणमा इरानका परमाणु केन्द्रमा ठूलो क्षति पुगेको दाबी गर्दै आउनु भएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको वर्गीकृत प्रतिवेदनमा अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्रमा खासै क्षति नपुगेको मुल्यांकन गरिएको थियो । तर पछि आएर सीआइएले ट्रम्पको भनाईलाई समर्थन गर्ने अभिव्यक्ति जारी गरेको थियो । आजै पनि अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानमाथिको अमेरिकी आक्रमण ऐतिहासिक रूपमा सफल भएको दाबी गर्नुभएको छ ।
सरकारी टेलिभिजनबाट जारी गरिएको आफ्नो भिडियो सम्बोधनमा खामेनीले इजरायली सत्तामाथिको विजयका लागि इरानी जनतालाई बधाई दिनुभएको छ । आफू युद्धमा संलग्न नभए इजरायली सत्ता ध्वस्त हुन्छ भन्ने अनुभूति भएपछि अमेरिकाले इरानमाथि हमला गरेको दाबीसमेत उहाँले गर्नुभएको छ ।
अमेरिकाले विभिन्न बहानाबाजी गर्दै आए पनि मुलत उसले इरानलाई आत्मसमर्पण गराउन चाहेको कुरा ट्रम्पले अहिले आएर स्वीकार गरेको दाबीसमेत खामेनीले गर्नुभएको छ ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि स्थापित इरानी सत्तासँग अमेरिकाको असन्तुष्टि रहँदै आएको र कहिले मानवअधिकार त कहिले परमाणु कार्यक्रमको बहानामा उसले आफ्नो मूल लक्ष्य सिद्ध गर्न खोज्दै आएको खामेनीको भनाइ छ ।
सन् १९७९को इस्लामिक क्रान्तिले अमेरिका समर्थित तत्कालिन राजा मोहम्मद रेजा शाह पहलवीलाई सत्ताच्यूत गरेर इस्लामिक गणतन्त्रको स्थापना गरेयता अमेरिकाका साथै इजरायलसँग इरानको सम्बन्ध बिग्रिएको हो ।
इजरायलले इरानमाथि यही जुन १३ मा भीषण हवाई आक्रमण गरेपछि दुवैबीच युद्ध सुरूभएको थियो । युद्धको १३औं दिन अर्थात जुन २२मा इरानका तीनवटा परमाणु केन्द्रमा आक्रमण गरेर अमेरिका प्रत्यक्ष रुपमा यस युद्धमा संलग्न भएको थियो ।
अमेरिकी आक्रमणको बदलामा इरानले सोमबार कतारको दोहास्थित अमेरिकी सैन्य अखडा अल उदिदमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । त्यसको केही घण्टापछि नै ट्रम्पले इजरायल इरान युद्धविरामको घोषणा गर्नुभएको थियो ।