नेपालमा पहिलो पटक अक्सन प्रणालीमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता हुने

असार १२, २०८२ |खेल ब्युरो
नेपालमा पहिलो पटक अक्सन प्रणालीमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । नेपालमा पहिलो पटक अक्सन प्रणालीमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिले आगामी भदौ २३ देखि २८ गतेसम्म पहिलो संस्करणको इन्डोर प्रिमियर लिग आयोजना गर्ने भएको हो । प्रतियोगिताका सम्पूर्ण खेल काठमाडौंको रोयल स्पोर्ट्स पार्क, बूढानीलकण्ठमा खेलिने छन् ।

१० टोली सहभागी हुने यो प्रतियोगिता सिङ्गल राउन्ड-रोबिन लिगका आधारमा खेलाइने छ । लिग चरणका शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगितमा सहभागी हुने खेलाडीलाई तीन श्रेणीमा विभाजन गरी लिलाम गरिने छ । 

प्रत्येक टिमले राष्ट्रिय वा उमेर समूहको टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडीलाई 'मार्की खेलाडी' का रूपमा अनुबन्ध गर्नुपर्ने छ । ‘ए’ श्रेणीका खेलाडीका लागि १५ देखि २५ हजार, ‘बी’ श्रेणीका लागी १०-१५ हजार र ‘सी’ श्रेणीका खेलाडीको मूल्य ५ देखि १० हजार रूपैयाँ तय गरिएको छ ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार रूपेयाँ खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्यूनतम मूल्य एक लाख ५० हजार रूपैयाँ तोकिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४५ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कार राशि केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।