काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा साइबर अपराधको जोखिमसम्बन्धी अध्ययन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल प्रयोगकर्तामाथि स्थलगत अध्ययन गरेर नयाँ कानुनका लागि राय दिने तयारी गरेको हो । सात प्रदेशमा ११ सय ७५ जनामाथि गरेको अध्ययनमा अधिकांशले सामाजिक सञ्जालको प्रयोगबारे सचेत रहे पनि अपराधको जोखिममा रहेको बताएका छन् ।
समाजिक सञ्जाल प्रयोग गर्दा अत्यन्तै सचेत रहेको बताउने ४ सय ७७ जनामध्ये १ सय २७ जनाले आफू गोपनियता र सुरक्षा सचेतताको निकै जोखिममा रहेको बताएका छन् ।
१ सय ५१ जनाले धेरै जोखिममा रहेको बताए भने कम जोखिममा रहेको बताउनेको संख्या १ सय ४० रहेकाे थियाे । त्यस्तै सामाजिक सञ्जाल प्रयोग गर्दा सेटिङबारे जानकार रहेकाहरू अपराधबाट पीडित रहेको देखिएको छ ।
गोपनीयतासम्बन्धी सेटिङबारे जानकार रहेका ५ सय ३ जनामाथि गरेको अध्ययनमा ७५ जनाले अपराधको पीडित भएको बताएका छन् भने ४ सय ११ जनाले पीडित नभएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालकै सुरक्षा सेटिङ नियमित अपडेट गर्नेहरू ४ सय ३१ जना मध्ये ८२ जना मात्रै छन् भने ३ सय ३१ जनाले अपडेट गर्ने नगरेको बताएका छन् ।
प्रहरीले संकलन गरेको सुझावमा सामाजिक सञ्जाल प्रयोगकर्ता र साइबर अपराधसम्बन्धी कारवाहीका लागि फरक-फरक कानुनी व्यवस्था हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।