निजी क्षेत्रलाई पनि विद्युत ब्यापारका लागि बाटो खुला गरिदिनुपर्ने माग

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रलाई पनि विद्युत ब्यापारका लागि बाटो खुला गरिदिनुपर्ने माग

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाले बजेटमा टेक एण्ड पे को प्रावधान संशोधन गर्दै टेक अर पे कायम गरिए पनि भविष्यमा विद्युत् खरिदमा पुन: समस्या आउन सक्ने भन्दै निजी क्षेत्रलाई पनि विद्युत ब्यापारका लागि बाटो खुला गरिदिनुपर्ने माग अघि सारेको छ ।

टेक अर पे संशोधन भएपछि बिहिबार पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानले तत्कालका लागि समस्या समाधान भए पनि दिगो निकासका लागि निजी क्षेत्रलाई विद्युत् ब्यापारमा बाटो खुला गर्न माग गरेको हो । 

अहिले विद्युत् प्राधिकरणले मात्रै विद्युत खरिद गर्ने भएकाले आन्तरिक तथा बाह्य ब्यापारमा फराकिलो बनाउन समस्या भएको उर्जा उद्यमीहरूको तर्क छ। यसैगरी समयमै प्रसारणलाइन निर्माण नहुँदा विद्युत् आपूर्तिको समस्या भएकाले निजी क्षेत्रलाई ब्यापारका लागि ढोका खुला गर्न उनीहरूले माग गरेका छन् ।

अहिले विद्युत ब्यापारका लागि आधा दर्जन कम्पनीले कुरिरहेका छन् । यसका लागि छिट्टै कानुन संशोधन गरी बाटो खुला गर्नुपर्ने माग उनीहरूको छ । बजेटमा टेक एण्ड पे को प्रावधान सच्च्याए पनि सरकारले माग र आवश्यकताका आधारमा भन्ने विद्युत खरिद गर्ने छ भनेपछि निजी क्षेत्र झस्किएको छ । 

त्यही कारण दिगो बजार सुनिश्चतताका लागि आफैंले विद्युत ब्यापार गर्न पाउनुपर्ने माग उनीहरूले राखेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.