काठमाडौं । विम्बल्डन, जसको घाँसे मैदान इतिहासको साक्षी बनेको छ । सेतो पोशाक शालीनताको प्रतीक बनेको छ । यो केवल एक ग्रान्डस्लाम टेनिस प्रतियोगिता मात्र होइन । यो टेनिसको देवालय हो ।
शताब्दीदेखि अनुशासन, आदर र गरिमाले सजिएको यो मञ्च खेलकुद संस्कृति र श्रद्धाको केन्द्र हो । सन् १८७७ मा एक साधारण मैदानबाट सुरु भएर आजको भव्यतासम्म आइपुग्दा विम्बल्डनको गरिमा निरन्तर बढ्दो छ । यस पटक कान्तिपुर म्याक्सले विम्बल्डनको प्रत्यक्ष प्रसारण गर्ने भएपछि विश्व टेनिसको यो गरिमामय प्रतियोगिताको साक्षी बन्न नेपाली दर्शक पनि आतुर छन् ।
खेल क्षेत्रमा परम्परा, शालीनता र गौरवको प्रतीक हो- विम्बल्डन । यो केवल एक ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिता मात्र होइन, यहाँ इतिहास कोरिन्छन्, परम्परा स्थापित हुन्छन् र भावनाहरू छचल्किन्छन् ।
विम्बल्डनको पहिलो प्रतियोगिता सन् १८७७ मा लन्डनको ‘अल इङ्ल्यान्ड क्रोक्वेट एन्ड लन टेनिस क्लब’ को एक साधारण मैदानमा खेलिएको थियो । २२ जना खेलाडीले एक गिनी तिरेर यो प्रतियोगितामा भाग लिएका थिए । त्यतिबेला वर्षाका कारण तीन दिन ढिला फाइनल भएको थियो । तर जब २७ वर्षीय स्पेन्सर गोरेले उपाधि जिते । त्यो क्षणले एउटा युगको प्रारम्भ गरेको थियो । दर्शकले एक सिलिङ तिरेर फाइनल हेरेका थिए । आजसम्म आइपुग्दा पहिलो २० पंक्तिमा बस्न तपाईंले ३ सय १५ पाउन्ड तिर्नुपर्छ । १९६८ देखि जब यो प्रतियोगित पूर्णरूपमा व्यावसायिक भयो पुरस्कार राशि निरन्तर बढेको छ ।
यस पटकको विजेताले ३ मिलियन पाउन्ड पुरस्कार पाउँछन् । समग्र पुरस्कारमा मात्र ५३.५ मिलियन पाउन्ड खर्च हुनेछ ।
समयसँगै विम्बल्डनले धेरै कुरा फेर्यो । मैदान, संरचना, प्राविधिक सुविधा । तर केही चिज यस्ता छन्, जसले विम्बल्डनलाई अन्य प्रतियोगिताबाट अलग बनाउँछ । ग्रास कोर्टमा खेलिने यो एक मात्र ग्रान्ड स्लाम हो । जहाँ खेलाडीले पूरै सेतो पोशाक लगाउनुपर्छ । शालीनता र अनुशासन यो प्रतियोगिताको सौन्दर्य हो । खेलाडीको अनुशासन, दर्शकको सम्मान र आयोजकको गरिमा, यी सबै पक्षले विम्बल्डनलाई 'खेलकुदको देवालय' बनाएको छ ।
विम्बल्डनको ड्रेसकोडले कहिलेकाहीँ विवाद पनि जन्माएको छ । सन् २०१४ मा इनर गार्मेन्ट पनि सेतो हुनुपर्ने कडा नियम लागू भयो । तर २०२० पछि महिला खेलाडीलाई कालो अन्डरसर्ट लगाउन छुट दिइएको छ । यसलाई आयोजकले परम्परा र व्यावहारिकताको सन्तुलनको प्रयास भएको बताएको छ ।
विम्बलडनमा स्ट्र्बेरी र क्रिमको परम्परा यथावत् छ । जुन-जुलाईको गर्मीमा ताजा स्ट्रबेरी र चिसो क्रिमको स्वादले खेललाई थप रोमाञ्चक बनाउँछ । हरेक वर्ष २८ हजार किलोग्राम स्ट्रबेरी र ७ हजार लिटर क्रिमलाई १ लाख ४० हजारभन्दा बढी भागमा वितरण गरिन्छ । जुन विम्बल्डनको सांस्कृतिक स्वादको प्रतिविम्ब हो ।
पुरुष एकलतर्फ स्विस महान खेलाडी रोजर फेडेररले आठ पटक प्रतिष्ठित विम्बल्डन जित्दै ग्रास कोर्टमा अमर नाम लेखाएका छन् । महिलातर्फ मार्टिना नाभ्रातिलोभाले नौ पटक यो उपाधि जितेर इतिहासमा नमेटिने छाप छोडेकी छन् ।
प्रतियोगिताका क्रममा बाल ब्वाइ र बाल गर्ल्सको भूमिका पनि कम महत्त्वपूर्ण छैन । करिब २५० किशोरकिशोरी महिनौंसम्म प्रशिक्षण दिई अनुशासन र दक्षताको आधारमा छनोट हुन्छन् । अन्ततः उनीहरूका लागि विम्बल्डन सेवा मात्र नभई जीवनको पाठशाला पनि बन्न पुग्छ ।
यो टेनिस प्रतियोगिता मात्र होइन, खेलकुदको एउटा जिउँदो विरासत हो । जहाँ हरेक समय केही क्षण रोकिन्छ र इतिहासको साक्षी बन्छ ।