रोनाल्डोले थप दुई वर्ष अल-नासरमा बिताउने

असार १२, २०८२ |खेल ब्युरो
रोनाल्डोले थप दुई वर्ष अल-नासरमा बिताउने

काठमाडौं । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले थप दुई वर्ष साउदी प्रो-लिग क्लब अल-नासरमा बिताउने भएका छन् ।

क्लब र रोनाल्डोबीच २ वर्षका लागि सम्झौता नवीकरण गर्ने सहमति भएपछि अब रोनाल्डोले ४२ वर्षभन्दा बढी उमेरसम्म साउदी क्लबमै विताउने भएका हुन् । दुई पक्षले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेको क्लबले जनाएको छ ।

सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट स्वतन्त्र खेलाडीका रूपमा अल-नासर पुगेका ४० वर्षीय रोनाल्डोले क्लबका लागि अहिलेसम्म १ सय ५ खेलमा ९३ गोल गरिसकेका छन् । 

यद्यपि जनवरी २०२३ मा क्लबमा आवद्ध भएयता उनले अहिलेसम्म कुनै ठूलो उपाधि जित्न सकेका छैनन् । तर व्यक्तिगत प्रदर्शनमा भने उनी लगातार दुई सिजन साउदी प्रो लिगको गोल्डेन बुट जित्न सफल भएका छन् । 

हालै सम्पन्न युएफा नेसन्स लिगमा पनि रोनाल्डोको कप्तानीमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो ।